मेलबर्नमा झन्डै ८० प्रतिशत स्वास्थ्यकर्मी आफ्नो कार्यस्थलबाट कोरोना सङ्क्रमित, सतर्क रहन नेपालीहरुलाई आग्रह

भिक्टोरियामा देखिएको कोरोनाभाइरसको दोस्रो लहरबाट ठुलो सङ्ख्यामा स्वास्थ्यकर्मी सङ्क्रमित भएको बताइएको छ।

St Johns Ambulance Victoria volunteers Caitlin Styles (left) and Alannah Griffiths are seen at a pop up Hospital at the Melbourne Showgrounds in Melbourne.

Melbourne'da fırtına yüzünden yaşanan sıkıntılar sırasında tıbbi yardım almak serbest. Source: AAP Image/James Ross

कोरोनाभाइरसको दोस्रो लहरबाट मेलबर्नमा कार्यरत स्वास्थ्यकर्मीहरुको ठुलो सङ्ख्या सङ्क्रमित भएको बताइएको छ।

उक्त खुलासा भिक्टोरियाका प्रमुख चिकित्सा अधिकारी एन्ड्रु विल्सनले मङ्गलवार मेलबर्नमा आयोजित दैनिक कोभिड-१९ पत्रकार सम्मेलनका क्रममा गरेका हुन्।

विल्सनका अनुसार भिक्टोरियामा देखिएको कोरोनाभाइरसको दोस्रो लहरका कारण, कार्यस्थलबाट सङ्क्रमित हुने स्वास्थ्यकर्मीहरूको सङ्ख्या करिब ७० देखि ८० प्रतिशत रहेको छ।

"अस्पतालहरूमा सङ्क्रमित हुने मध्ये ७० प्रतिशत नर्सिङ स्टाफ हुन्, चिकित्सा सम्बन्धी काम गर्ने र अन्य स्वास्थ्यकर्मीहरू निकै कम मात्रामा मात्र प्रभावित भएका छन्," उनले स्पष्ट पार्दै भने।

"अधिकांश सङ्क्रमित स्वास्थ्यकर्मीहरू वृद्ध हेरचाहमा संलग्न छन्, तर अस्पतालहरूको हकमा भने सङ्क्रमित मध्ये ७० प्रतिशत मानिसहरू नर्सिङ स्टाफ छन्।"
यस्तै वृद्ध हेरचाहमा संलग्न वर्षा केसी राजभण्डारी, पश्चिमी मेलबर्न स्थित एक स्याहार केन्द्रमा स्वास्थ्य सहायकको रूपमा कार्यरत छिन्।

उनी भन्छिन् कि कोरोना संब‍न्धि सावधानीहरू अपनाउँदा अपनाउँदै पनि वृद्ध हेरचाह केन्द्रहरूमा महामारी फैलिएको छ।

"धेरै केसहरुमा सङ्क्रमित मानिसहरू एसिम्टमेटिक (लक्षण देखा नपर्ने) हुने हुनाले पनि रोग फैलिन सजिलो भएको हो जस्तो लाग्छ," राजभण्डारीले भनिन्।

यसको अलावा उनको अनुभवमा राम्रो र समयसापेक्ष तालिमको अभाव पनि समस्याको जड हो।
Barsha KC Rajbhandari Nepali Didi Bahini Samaj Vic
वर्षा केसी राजभण्डारी Source: Barsha KC Rajbhandary
वर्षा केसी राजभण्डारीका अनुसार राम्रो तालिमको अभावमा पनि नयाँ भर्ती भएका कामदारहरूले अनजान मै रोग फैलाउन भूमिका खेलेका छन्।

राजभण्डारी भन्छिन् कि तालिमको गुणस्तर पहिले सामान्य अवस्थामा प्रदान गरिने जस्तो छैन।

"अहिले मान्छेहरूलाई यति हायर गरिरहेको छ, हेल्थ सेक्टरमा - नयाँ जबमा। र, अहिलेको सिनारियोमा जुन नर्मल टाइममा दिइने ओरिनयन्टेसन, इन्डक्सन र ट्रेनिङहरू हुन्थ्यो, त्यो अहिले जति नै गरेँ भन्दा पनि पहिलेको जस्तो छैन," उनले भनिन्।
"हतार-हतार डनिङ-डफिङको ट्रेनिङ दिएर आजको भोलि मान्छेहरू फ्लोरमा राखिरा'छ। पीपीई राम्ररी लगाउने तरिका पनि थाहा छैन, पहिलो कन्ट्यामिनेसन त त्यहीँ नै भइसक्यो।"
राजभण्डारीले यसरी नयाँ भर्ती हुने स्टाफमा आफूलाई शङ्का लागेको कुरा सोध्न हिचकिचाउने बानीले पनि समस्याको आगोमा घ्यु थप्ने काम गरेको बताइन।

"आफूलाई शङ्का लागेको कुरा सोध्दा राम्रो नदेखिन पनि सक्छ या सबै हतारमा छन् भनेर जे-जस्तो जान्या छ, (त्यो) गर्दा उनीहरू आफै पनि अनप्रोटेक्टेड छन्।"
कोरोना सङ्क्रमणको पहिलो लहरका क्रममा भने, सङ्क्रमित स्वास्थ्य सेवाकर्मीहरू मध्ये केवल २२ प्रतिशतलाई मात्र काममा कोरोनाभाइरस सरेको भनेर विश्वास गरिएको थियो।

सङ्क्रमण बारे कमजोर अभ्यास नै रोग फैलिनुको मुख्य कारक तत्त्व भएको मानिएको छ र यस बारे राज्य सरकारद्वारा मङगलबार गरेको घोषणामा वृद्ध हेरचाह केन्द्रहरू र अस्पतालहरूमा अपनाइने सुरक्षा विधिमा सुधार गरिने उल्लेख छ।

वृद्ध स्याहार क्षेत्रका कामदारहरू शिफ्टको लागी विभिन्न स्याहार केन्द्रहरूमा काम गर्दा पनि रोग सर्न ठुलो भूमिका खेलेको सहप्राध्यापक एन्ड्रु विल्सनले बताए।

वर्षा केसी राजभण्डारी मुख्य चिकित्सा अधिकृतको भनाइसँग सहमत छिन्।
Barsha KC Rajbhandari
Source: Barsha KC Rajbhandary
राजभण्डारी भन्छिन् कि अधिकांश युवा पिढींका मानिसहरू जो हालको स्थितिमा काम खोज्दै वृद्ध स्याहार क्षेत्रमा प्रवेश गरेका छन्, उनीहरू थाहै नपाइकन जोखिममा आफूलाई हालिरहेका छन्।

"बल्ल-बल्ल पाइरहेको जागिर, त्यसमा पनि त्यति लामो-लामो शिफ्ट पाइरहेकोमा उहाँहरू खुसी हुनुहुन्छ तर उहाँहरूले बुझ्नु भएको छैन कि उहाँहरूले आफूलाई सडेन्ल्ली कस्तो किसिमको डेन्जरमा, इन्फेक्सनमा एक्सपोज गरिरहनुभएको छ भनेर," उनले एसबीएसलाई भनिन्।
"उहाँहरूबाट रेजिडेन्टलाई त रिस्क छँदै छ, रेजिडेन्टबाट समेत उहाँहरूलाई पनि रिस्क छ।"
यसलाई अर्को पक्षबाट पनि हेर्न सकिने कम्युनिटी हेल्थ नर्सका रूपमा काम गर्दै आएकी जमुना पराजुली बताउँछिन्।

पराजुलीले कम उमेरका मानिसहरूलाई रोगले निकै कम मात्र सताउने भन्ने सोचका कारण पनि कि‍शोरावस्था र युवाहरूमा महामारी अनि त्यसका गाम्भिर्यतालाई लिएर खासै चिन्ता नभएको अनुभव सुनाइन्।

"आमा वन् परसेन्ट पनि छैन डेथ रेट किन डराएको - भन्ने क्या" आफ्नो १४ वर्षिय छोराको उदाहरण दिँदै पराजुलीले भनिन्।
पराजुली जस्तै सामुदायिक नर्सका रूपमा काम गर्ने प्रभा श्रेष्ठ भने व्यवहार र सोच्ने तरिकामा फरक दृष्टिकोणका कारण यस्तो हुने धारणा अगाडी सार्छिन्।

"यो कोरोनाभाइरसको बारेमा मात्र होइन। जस्तो हामीले स्मोकिङ्ग गर्नुहुँदैन भनेर कति भनिरहेका हुन्छौँ। यसबारे रिसोर्सेसहरु टन्न हुँदाहुँदै पनि चुरोट खान मानिसहरूले छाड्दैनन्," श्रेष्ठले भनिन्।

"मेरो बिचारमा बानी व्यवहार चेन्ज गर्ने कुरामा यसै पनि गाह्रो हुन्छ, त्यसमा पनि अब हामी नयाँ स्थितिमा, विदेशमा हुँदा सबै कुरा फलो गर्न अफ्ठेरै पनि हुन्छ।"

"शायद हामीले किन खतरा छ, कसरी जोखिम छ भन्ने बुझ्न बुझाउन नै सकिरहेका छैनौं कि?"
अस्पतालको सवालमा भने सङ्क्रमण मुख्य रूपले वार्डहरूमा फैलिएको प्रमुख चिकित्सा अधिकृत एन्ड्रु विल्सनको भनाई छ।

"अस्पतालहरूमा हामीले यो कसरी भइरहेको छ भन्ने बारे निश्चित रूपले धेरै कुरा सिकेका छौँ, जुन वार्डहरूमा हुने सङ्क्रमण हो," उनले भने।

"विशेष गरी जहाँ बिरामीहरूलाई समूहगत रूपमा राखिएको हुन्छ। हामी यसलाई कोहोर्टिङ अफ पेसेन्ट्स (उस्तै बिरामीहरूको समूह बनाउने) भन्ने गर्छौँ। "

विल्सनका अनुसार त्यसरी एकै प्रकारका बिरामी समुहमा मिलाएर राख्दा, सङ्क्रमण फैलन थप मद्दत पुगेको बारे आफूहरूलाई कयौँ हप्तादेखि थाहा भएको र अब त्यसलाई सम्बोधन गर्ने काम सुरु भइसकेको छ।

"यो कुरा केही हप्तादेखि स्पष्ट भएको छ र हामीले अस्पतालहरूसँग यसबारे काम गर्न सुरु गरिसकेका छौँ," उनले भने।
सरकारको नयाँ रणनीति अन्तर्गत भिक्टोरियामा हरेक स्वास्थ्य सेवा प्रदायक कहाँ पीपीई स्पटर्स भनिने व्यक्तिगत सुरक्षा उपकरण पहिचानकर्ताको दरबन्दी हुने व्यवस्था कायम गर्न लागिएको छ।

ती पीपीई स्पटर्सले अन्य उच्च जोखिममा भएका कर्मचारीले राम्रोसँग व्यक्तिगत सुरक्षा उपकरण लगाएको छ कि छैन भनेर समेत जाँच गर्ने छन्।

यस क्षेत्रमा सङ्क्रमणका अन्य प्रमुख कारणहरू कर्मचारीहरूले प्रयोग गर्ने चिया र ब्रेक रुमहरूमा हुने सम्पर्क, निम्न कोटीको पीपीई प्रयोग र जीर्ण भेन्टिलेसन प्रणालीहरू समावेश छन्।
"पीपीई भण्डार गरिएको तरिकाका कारणबाट समेत सङ्क्रमण फैलिएको छ ," विल्सनले भने।

राज्यकी स्वास्थ्य मन्त्री जेनी मिकाकोसले स्वास्थ्य सेवा प्रदायक संस्थाहरूमा रोग थप फैलिन नदिन अतिरिक्त कदमहरू चालिने बताएकी छिन्।

"यदि टी रुममा, उदाहरणका लागि, व्यक्तिहरू सुरक्षित रूपमा खाना खानको लागि एकदम सानो छ भने, हामीले स्वास्थ्य सेवाकर्मीहरूले ती आधारभूत सुविधाहरूमा पहुँच पाउन सकुन् भनी सुनिश्चित गर्न खाना तताउने उचित सुविधा स्थापना गर्नेछौँ," उनले भनिन्।

राज्यका प्रमुख स्वास्थ्य अधिकारी (चीफ हेल्थ अफिसर) र प्रमुख चिकित्सा अधिकारी

(चीफ मेडिकल अफिसर) बिचको भिन्नता

Victorian chief health officer Brett Sutton addresses the media during a press conference in Melbourne, Wednesday, August 19, 2020. Victoria has recorded 216 new cases of coronavirus and 12 deaths in the past 24 hours. (AAP Image/James Ross) NO ARCHIVING
Victorian chief health officer Brett Sutton addresses the media during a press conference in Melbourne, Wednesday. Source: AAP


मङ्गलवारको प्रेस सम्मेलनका बखत दुवै अधिकारीहरूसँगै उपस्थिति भएका थिए र त्यही मौकाको फाइदा उठाउँदै प्रोफेसर ब्रेट सटनले भने, "सम्भवतः यो मुख्य स्वास्थ्य अधिकारी र प्रमुख चिकित्सा अधिकारी बिचको भिन्नता स्पष्ट पार्ने अवसर हो।"

"एन्ड्र्यु विल्सन सेफ केयर भिक्टोरिया र स्वास्थ्य विभागको प्रशासनिक कार्यालयसँग छन् र स्वास्थ्य सेवा प्रदायकहरूको गुणस्तर र सुरक्षामा बारे हेर्छन्।"

साथै, भिक्टोरियाका प्रमुख स्वास्थ्य अधिकारी समेत रहेका डा सटनले आफ्नो काम बारे स्पष्ट पार्दै भने, "मेरो पद जनस्वास्थ्य र कल्याण ऐन अन्तर्गत सार्वजनिक स्वास्थ्य हेर्ने अधिकार सहितको एक वैधानिक पद हो।"

"त्यस कारण प्राध्यापक विल्सनले क्लिनिकल सुरक्षा र हाम्रा स्वास्थ्य सेवाहरूको गुणस्तरको बारेमा बोल्न उचित हुन्छ।"
Chief medical officer Andrew Wilson addresses the media during a press conference in Melbourne, Tuesday, August 25, 2020. Victoria has recorded 148 new cases of coronavirus and eight deaths in the past 24 hours. (AAP Image/James Ross) NO ARCHIVING
Chief medical officer Andrew Wilson addresses the media during a press conference in Melbourne, Tuesday, August 25, 2020. Source: AAP

यी पनि हेर्नुहोस्:

Nepali Infographics MASKs
Source: SBS Nepali
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

 नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 
88df8a89-2c04-41a7-baa8-58337fe4219c


 


Share

Published

Updated

Source: AAP, SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand