Explainer

नेपालमा रहेका तपाईँका अभिभावकले अस्ट्रेलिया आउन के गर्नुपर्छ?

अस्ट्रेलियाली नागरिक तथा स्थायी बासिन्दाहरूका विदेशमा रहेका अभिभावकहरू अबदेखि अस्ट्रेलिया भित्रन पाउने भएका छन्। त्यसको लागि उनीहरूले पूर्ण रूपमा खोप लगाउनुका साथ साथै अनिवार्य दस्ताबेजहरू तयार पारेको हुनु पर्दछ।

Nepal Airport

Source: Sipa USA Prabin Ranabhat / SOPA Images/Si

अस्ट्रेलिया भित्रनका लागि क-कसले यात्रा छुट प्राप्त गर्न सक्दछन्?

कोभिड-१९ महामारीको नियन्त्रणका लागि अस्ट्रेलियाले सन् २०२० मार्च महिनादेखि गैर नागरिक र गैर आवासीयहरूको लागि आफ्नो अन्तराष्ट्रिय सीमा बन्द गरेको थियो।

तर अस्ट्रेलियाली नागरिक तथा स्थायी बासिन्दाका 'निकट सम्बन्ध भएका व्यक्तिहरू' भने (पति/पत्नी, डी फ्याक्टो पार्टनर, बालबालिका या तिनका अभिभावक/कानुनी अभिभावक) यात्रा अनुमति प्रयोग गरी प्रवेश पाएका थिए।
नोभेम्बर १ देखि अस्ट्रेलियाली नागरिक र स्थायी बासिन्दाहरूका अभिभावकहरू पनि 'अत्यन्त निकट सम्बन्ध' भएका मानिसहरूको सूचीमा पर्दछन्। जन्म दिएका अभिभावक, कानुनी (तथा दत्तक) अभिभावक, सौतेनी अभिभावक र सासू/ससुराहरू सबै जना अभिभावक पर्दछन्।

उनीहरूले कुन भिसाको आवेदन हाल्न सक्छन्?

आवेदकको राष्ट्रियताको आधारमा अभिभावकहरूले निम्न लिखित तीन वटा छोटो अवधिको भिसाका लागि आवेदन पेस गर्न सक्दछन्।

१. भिजिटर भिसा (सबक्लास ६००): सबै देशका (र माथि उल्लेखित देशका) नागरिकहरूले यस भिसाको लागि आवेदन पेस गर्न पाउँदछन्।

  • बसाई अवधि: १२ महिनासम्म
  • भिसा आउन लाग्ने समय: आठदेखि २० महिनासम्म
  • शुल्क: १४५ अस्ट्रेलियाली डलर
२. इलेक्ट्रोनिक ट्राभल अथोरिटी (सबक्लास ६०१): यी देशका नागरिकहरूले इलेक्ट्रोनिक ट्राभल अथोरिटीको (इटीए) लागि आवेदन पेस गर्न पाउँदछन्: ब्रुनाई, क्यानडा, हङकङ (चीनको एसएआर), जापान, मलेसिया, सिंगापुर, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका।

  • बसाई अवधि: तीन महिना सम्म
  • भिसा आउन लाग्ने समय: ठोस समय पुष्टि गरिएको छैन
  • शुल्क: २० डलर
गृह मन्त्रालयले यस भिसा आउन लाग्ने समयलाई निश्चित नगरे तापनि बागीयानो भन्छिन्, "सरकारले अस्ट्रेलियन इटीए (AustralianETA) नामक एक एप परीक्षणात्मक एप तयार परेको छ। 

यदि तपाईँसँग क्यामेरा भएको स्मार्ट फोन या स्मार्ट उपकरण, र त्यसका साथै आफ्नो राहदानी प्रत्यक्ष प्रस्तुत छ भने, तपाईँले उक्त एप मार्फत इटीएको लागि आवेदन पेस गर्न सक्नु हुन्छ। यसको जवाफ निकै नै छिटो - एक या दुई दिनमा यसको निर्णय आइसक्छ।"

३. ईभिजिटर भिसा (सबक्लास ६५१): यी देशका नागरिकहरूले यस भिसाको लागि आवेदन पेस गर्न सक्दछन्: अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, क्रोएसिया, साइप्रस, चेक रिपब्लिक, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, हंगेरी, आइसल्यान्ड, आयरल्यान्ड, इटाली, लाटभिया, लिकटेन्स्टाइन, लिथुआनिया, लक्जमबर्ग, माल्टा, मोनाको, नेदरल्यान्ड, नर्वे, पोल्यान्ड, पोर्चुगल, रोमानिया, रिपब्लिक अफ सान मारिनो, स्लोभाक रिपब्लिक, स्लोभेनिया, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड, बेलायत र भ्याटिकन सिटी।

  • बसाई अवधि: तीन महिनासम्म
  • भिसा आउन लाग्ने समय: ३१ दिनदेखि चार महिना भित्र
  • शुल्क: निःशुल्क
"[त्यो] भिसा आउन लाग्ने ठिकै लामो समय हो," ब्रिसबेनस्थित अध्यागमन कार्यालय फ्रागोमेनकी वरिष्ठ वकिल रिबेका बागीयानोले बताइन्। "यो समयलाई घटाउनलाई सुरुमा भिसाको आवेदन पेस गरेर अनि त्यसपछि मात्र यात्रा अनुमतिको लागि माग गर्न सकिन्छ।" (विस्तृत जानकारी तल उपलब्ध छ)

"सुरुमा यात्रा अनुमति स्वीकार भयो भने भिसा पाउने प्रक्रियामा छिटो हुन्छ। हामीले गत १८ महिनादेखि यस्तै हिसाबले काम गरिरहेका छौँ र यसरी भिसाहरू धेरै छिटो आएका छन्।"

"यो सबै राष्ट्रियताका लागि उपलब्ध भिसा हो," बागीयानोले भनिन्।

"तपाईँसँग यस्तो प्रश्न हुन सक्छ, 'मैले आफू अमेरिकाको नागरिक छँदा किन भिजिटर भिसा (सबक्लास ६००) को साटो इटीएको लागि आवेदन दिने?' यसको मुख्य कारण भने यी भिसाहरूको बसाई अवधि हो। तपाईँले भिजिटर भिसा १२ महिनासम्मको लागि पाउन सक्नु हुन्छ - यसको मतलब, तपाईँ यो पुरै समय अवधिभर अस्ट्रेलिया आई यहाँ बस्न पाउँदछन्।"

अभिभावकहरूले यात्रा अनुमतिको लागि कसरी आवेदन दिनुपर्छ?

अस्ट्रेलियाली नागरिक तथा स्थायी बासिन्दाहरूका विदेशमा रहेका अभिभावकहरूले गृह मन्त्रालयको ट्राभल एग्जेम्पसन पोर्टलमा (Travel Exemption Portal) गई यात्रा अनुमतिको लागि आवेदन पेस गर्न पाउँदछन्।

अस्ट्रेलियाली नागरिक तथा स्थायी बासिन्दाहरूले पनि अर्को व्यक्तिको तर्फबाट यात्रा अनुमतिको माग गर्न सक्छन्।

आवेदन पेस गर्ने व्यक्तिले एक अनलाइन अकाउन्ट बनाएर त्यसमा साइन इन् गर्नु पर्छ। साइन इन् गरे पछि त्यहाँ भएका फारममा विवरणहरू भरेर, माग गरिएका दस्ताबेजहरूलाई रङ्ग देखिने गरी स्क्यान गरेर प्रदान गर्नु पर्दछ। ती दस्ताबेजहरू यस प्रकारका हुन्छन्:

  • अस्ट्रेलियाली नागरिक या स्थायी बासिन्दाको पहिचान - जस्तै, राहदानी, जन्म दर्ता प्रमाण पत्र, नागरिकताको प्रमाण पत्र र भिसाहरू।
  • उक्त अस्ट्रेलियाली नागरिक या स्थायी बासिन्दाको अभिभावकको पहिचान - जस्तै, राहदानी, जन्म दर्ता प्रमाण पत्र र नागरिकताको प्रमाण पत्र।
  • आवेदक र उक्त अस्ट्रेलियाली नागरिक या स्थायी बासिन्दाबिचको सम्बन्ध - जस्तै, जन्म दर्ता प्रमाण पत्र र पारिवारिक पुस्तिका।
  • उक्त विदेशी नागरिकको (अभिभावक) खोप लगाएको प्रमाण। हाल अस्ट्रेलियाली सरकारले चार वटा खोपहरूलाई मात्र स्वीकृति प्रदान गरेको छ (तलको सूचीमा हेर्नुहोस्)।
ती दस्ताबेजहरूलाई अनलाइन फारममा हाल्नु अघि तिनको नामलाई प्रकार अनुसार परिवर्तन गर्न नबिर्सिन बागीयानो बताउँछिन्। जस्तै, राहदानीलाई "पासपोर्ट" र जन्म दर्तालाई "बर्थ सर्टिफिकेट" भनी नाम गरेमा अस्ट्रेलियाली सीमा बलका अधिकारीका लागि प्रक्रिया सजिलो हुन पुग्दछ।

"यसले अधिकारीहरूको कामलाई सजिलो बनाउँछ र यात्रा अनुमति या भिसा छिटो प्रदान गरिने सम्भावना बढ्छ," उनले बताइन्।

हाल अस्ट्रेलियाली सरकारले यी चार वटा कोभिड-१९ खोपहरूलाई स्वीकृति प्रदान गरेको छ: फाइजर, मोडर्ना, एस्ट्राजेनेका (भ्याक्सजेभ्रियाद्वारा उत्पादित) र जोन्सोन एन्ड जोन्सोन।

त्यस्तै, कोरोनाभ्याक (साइनोभ्याक) र एस्ट्राजेनेकालाई (भारतको सीरम संस्थानद्वारा उत्पादित) अस्ट्रेलियाले मान्यता दिएको छ।

स्वास्थ्य विभागले नोभेम्बर १ मा सार्वजनिक गरेको पछिल्लो बयान अनुसार कोभ्याक्सिन (भरत बायोटेक, भारत) र बीबीआईबीपी-कोर भी (चीनको साइनोफार्मद्वारा उत्पादित) लाई पनि मान्यता दिइएको छ। 

स्पुटनिक भी (रसिया) र क्यान्सिनो खोपहरूलाई अहिले मान्यता दिइएको छैन।

खोपहरू बारे अद्यावधिक र विस्तृत जानकारीका लागि यहाँ जानुहोस्।

मलाई भाषा सम्बन्धी सहयोग चाहिएमा के गर्ने?

तपाईँले प्रदान गर्ने दस्ताबेजहरू अङ्ग्रेजीमा छैनन् भने त्यसको अनुवादको लागि नाटीको मान्यता प्राप्त अनुवादकको प्रयोग गर्नु पर्ने बागीयानोले बताइन्।

"यात्रुहरूले आफ्नै देशका प्रमाणित अनुवादकहरूको प्रयोग गर्न त सक्छन्, तर अस्ट्रेलियामा आधारित नाटी मान्यता प्राप्त अनुवादकको प्रयोग गर्नु सबै भन्दा उचित हुन्छ - किन भने गृह मामिलाका अधिकारीहरूलाई अनुवाद सही रहेको भनी आश्वासन दिलाउँछ।"

यो नाटीको वेबसाइटमा गएर गर्न सकिन्छ। मान्यता प्राप्त अनुवादक भेटे पछि आफ्ना दस्ताबेजहरूलाई रङ्ग देखिने गरी स्क्यान गरेर पठाउनु पर्छ र उनीहरूले त्यसको अनुवाद गरेर तपाईँलाई फिर्ता पठाउँछन्।

अभिभावकहरू कहिले प्रवेश गर्न पाउँदछन्?

विदेशी नागरिकहरूले भिसा र यात्रा अनुमति प्राप्त गरे पछि मात्र उडानको व्यवस्था मिलाउने सल्लाह दिइन्छ।

"अभिभावकहरू अस्ट्रेलिया भित्रन पाउने मितिको कुरा उनीहरू जाने राज्य वा प्रदेश र तिनका क्वारेन्टिन नियमहरूमा भर पर्दछ," बागीयानोले बताइन्।

"[नोभेम्बर १ देखि] अन्तराष्ट्रिय यात्रुहरूका लागि प्रतिबन्धहरू खुकुलो गर्ने राज्यहरू हुन् भिक्टोरिया र न्यु साउथ वेल्स … खोपको दुवै मात्रा लगाएकाहरूले अस्ट्रेलिया (यी राज्यहरूमा) भित्रिए पछि होटेल क्वारेन्टिनमा बस्नु पर्दैन। अन्य राज्य र टेरिटोरीहरूले भने आ-आफ्ना योजना अनुसार काम गरिरहेका छन्।"

Share

Published

Updated

By Akash Arora
Presented by Dinita Rishal

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand