मङ्कीपक्स भाइरस: के जान्न आवश्यक छ?

सन् २०२४ सुरू भएयता अस्ट्रेलियामा ४३५ वटा मङ्कीपक्सका केसहरू देखिएका छन्। केसहरूको सङ्ख्या बढ्दै गएको देखिएपछि विशेषज्ञहरूले मानिसहरूलाई खोप लगाउन आग्रह गरिरहेका छन्।

A billboard in an airport with information about the transmission factors and symptoms of monkeypox.

The World Health Organisation has declared a global emergency due to a new variant of mpox. Source: Getty / NurPhoto

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्सको बढ्दो प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ।

यस वर्ष मात्र १४ हजार भन्दा बढी व्यक्तिहरू मङ्कीपक्सबाट सङ्क्रमित भएका छन् भने अफ्रिकामा ५२४ जनाले ज्यान गुमाएका छन्।

अस्ट्रेलियामा पनि पछिल्ला केही महिनामा मङ्कीपक्सका केसहरू बढ्दै गएका छन्।

डिपार्टमेन्ट अफ हेल्थको डिजिज सर्विलेन्स सिस्टमको अनुसार, सन् २०२३ मा २६ केसहरू रिपोर्ट गरिएका थिए भने सन् २०२४ मा अहिलेसम्म ४३५ केसहरू रिपोर्ट भएका छन्।
"कसैसँग हात मिलाएर मङ्कीपक्सले सङ्क्रमण हुनु असम्भव नै हो। यस्तो संसार मै कतै भएको छैन, र यस्तो भएको म कल्पना पनि गर्न सक्दिन," प्रोफेसर फ्रिडम्यानले एसबीएसलाई भनिन्।

"यसका लागि नजिकको र लामो 'स्किन-टु-स्किन' सम्पर्क चाहिन्छ। 'स्किन-टु-स्किन' भनेपछि मेरो मतलब 'ह्यान्ड-टु-ह्यान्ड' मात्र पनि होइन, यसका लागि अझै धेरै सम्पर्क चाहिन्छ।"

"त्यसैले, सार्वजनिक यातायात चढेर, संक्रमित व्यक्तिको छेउमा हिँडेर वा सँगै खाना खाएर मङ्की पक्स सर्दैन।"

सरकार र विज्ञहरूले भने सङ्क्रमित व्यक्तिसँग प्रत्यक्ष र नजिकको सम्पर्कबाट बच्न सुझाव दिएका छन्।

मङ्कीपक्स कसरी सर्छ त?

अस्ट्रेलियामा मङ्कीपक्सको धेरै जसो केसहरू पुरुषहरूमा र समलिङ्गी र द्वियौनिक समुदायहरूमा देखिएको प्रोफेसर फ्रिडम्यान बताउँछिन्।

सन् २०२२ देखि अहिलेसम्म मात्र एक जना महिला मङ्कीपक्सले सङ्क्रमित भएकी छिन्।
A man standing outside and holding his hand forward palm down. There are lesions on the back of his hands
The hands of an mpox patient in the Democratic Republic of the Congo during an outbreak of the disease there in 1997. Credit: AP
स्थानीय स्तरमा सङ्क्रमण फैलने सम्भावना धेरै भएको हुनाले यो चिन्ताजनक रहेको एलजीबीटीक्युआइ प्लस समुदायद्वारा सञ्चालित संस्था, थोर्न हार्बर हेल्थका प्रमुख कार्यकारी अधिकृत साइमन् रुथले बताए।

"हालको प्रकोप मेलबर्नमा एन्ज्याक डे आसपास सुरु भएको हो," रुथ भन्छन्।

"यस वर्षको प्रकोप र १२ महिना अगाडिको प्रकोपमा फरक के छ भने १२ महिना अघि लगभग सबै केसहरू विदेशबाट आएका थिए। तर अहिलेका केसहरू लगभग सबै स्थानीय रूपमा फैलिएका छन्। त्यसैले हाम्रो समुदायमै मङ्कीपक्स फैलिएको छ।"

तर यसको मतलब अरू मानिसहरू मङ्कीपक्सले सङ्क्रमित हुन सक्दैनन् भन्ने होइन।

"मङ्कीपक्सको सङ्क्रमण प्राय: लामो समयदेखि नजिकको सम्पर्कमा रहेको सङ्क्रमित व्यक्तिको थुकको छिटा भित्र पस्यो भने वा बाहिर फालेको सासमा भएका थोपा सहितको सास फेर्दा हुन सक्छ," न्यु साउथ वेल्स हेल्थले भन्छ।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार सङ्क्रमित व्यक्तिको छालामा भएको फोका, घाउ, वा शरीरको तरल पदार्थसँग सम्पर्क हुँदा पनि सङ्क्रमण हुन सक्छ।

प्रत्यक्ष सम्पर्क भनेको शारीरिक यौन सम्पर्क वा मङ्कीपक्स भएको व्यक्तिको गुप्तांग (लिंग, अण्डकोष, र योनि) वा मलद्वारसँगको सम्पर्क भन्ने बुझिन्छ।

अन्य प्रकारका प्रत्यक्ष सम्पर्कमा अँगालो मार्नु, मसाज गर्नु, र चुम्बन गर्नु समावेश छन्।

गर्भवती आमाहरूले पनि यो भाइरस प्लासेन्टाबाट आफ्नो गर्भमा रहेको बच्चालाई सार्न सक्छन्।

मङ्कीपक्सबाट कसरी बच्ने त?

विशेषज्ञहरूले सङ्क्रमित व्यक्तिहरू र तिनीहरूले प्रयोग गरेका तन्ना र तौलिया जस्ता वस्तुहरूबाट टाढा रहन सल्लाह दिएका छन्। साथै, खोप लगाउन योग्य भएमा खोप लगाउने सुझाव पनि दिएका छन्।

टास्मेनिया हेल्थका अनुसार, मङ्कीपक्स भाइरसबाट सङ्क्रमित हुनसक्ने, बिरामी वा मरेका जनावरहरूसँग सम्पर्क नगर्नु र जङ्गली मासु (बुश मिट)बाट टाढै बस्नु पर्छ।

यी जनावरहरू 'रोडेन्ट्स' अर्थात् मुसा र खरायो जस्ता साना दाँत भएका जनावरहरू, 'मर्सुपियल्स' अर्थात् कङ्गारु र कोआला जस्ता झोलामा बच्चा बोकेर हिँड्ने जनावरहरू र 'प्राइमेट्स' अर्थात् मानव र बाँदरजस्ता जनावरहरूको समूहहरूमा समावेश छन्।

सङ्क्रमणको लक्षण देखिएमा वा पुष्टि भएमा, शरीरमा भएका सबै फोका र घाउहरू निको नभएसम्म उनीहरू अलग नै बस्नु पर्ने अस्ट्रेलियन सरकारले बताएको छ।

घाउहरू निको भएर छालाको नयाँ तह बन्न सामान्यतः दुईदेखि चार हप्ता लाग्छ। त्यति समय नभए सम्म व्यक्तिले 'आइसोलेसन' मै समय बिताउनु पर्छ।

"सङ्क्रमित व्यक्ति र घरका सबै सदस्यहरूले हात र श्वासप्रश्वासको सम्बन्धी सरसफाइमा थप ध्यान दिनु पर्छ। साबुन र पानीले हात धुनुहोस् र अल्कोहल-आधारित स्यानिटाइजरको प्रयोग गर्नुहोस्।"

यदि सङ्क्रमित व्यक्ति एक्लै आइसोलेट गर्न सक्दैन भने, फेस मास्क लगाउनुपर्छ।
भाइरसको सङ्क्रमण भोगिसकेका लागि भने खोप लगाउन आवश्यक नभएको प्रोफेसर फ्रिडम्यान बताउँछिन्।

"मङ्कीपक्सको जोखिममा रहेका व्यक्तिहरूका लागि चाहिँ सङ्क्रमणबाट बच्न खोप लगाउनु बढी महत्त्वपूर्ण छ," उनले भनिन्।

"खोपको पुरा कोर्समा, कम्तीमा एक महिनाको अन्तरमा दुई वटा डोज दिइन्छ। यी खोपहरू मङ्कीपक्सको सङ्क्रमण रोक्न धेरै प्रभावकारी छन्।"

सन् २०२३ मा, सिड्नी र मेलबर्नका ४८ प्रतिशत समलिङ्गी र द्वियौनिक पुरुषहरूले मङ्की पक्सको कम्तीमा एक डोज खोप लगाएको रिपोर्ट गरेका थिए।

तर यो सङ्ख्या अझै बढ्न आवश्यक भएको रुथ बत्ताउँछन्।

"भिक्टोरियाका धेरै क्लिनिकहरू र केही फार्मेसीहरूमा खोप निःशुल्क हुनका साथै सजिलै उपलब्ध छ। हामी मानिसहरूलाई खोप लगाउन आग्रह गर्छौ।"

के पहिले स्मलपक्सले सङ्क्रमित भएका व्यक्तिहरूले खोप लिनुपर्छ?

प्रोफेसर फ्रिडम्यानका अनुसार अस्ट्रेलियामा स्मलपक्स देखिएको सय वर्षभन्दा बढी भएको छ। त्यसैले अस्ट्रेलियाले ७० को दशकको अन्त्यतिर स्मलपक्सको खोप दिन रोकिसकेको थियो।

तर, आप्रवासीहरू भने अस्ट्रेलिया आउनुअघि स्मलपक्सले सङ्क्रमित भएको सम्भावना हुन सक्छ।

"आप्रवासीहरूले बाल्यकालमा आफ्नो देशमा स्मलपक्सको खोप लगाएको हुन सक्छन्, यो हामीलाई थाहा भएको कुरा हो। “यसले उनीहरूलाई मङ्क पक्सबाट केही हदसम्म सुरक्षा दिन्छ, र त्यो सुरक्षा दशकौँसम्म रहन सक्छ। त्यसैले पहिलै खोप लगाएका व्यक्तिहरू सुरक्षित नै हुने छन्," प्रोफेसर फ्रिडम्यान भन्छिन्।

मङ्कीपक्सका लक्षणहरू भएमा के गर्ने?

न्यु साउथ वेल्स हेल्थका अनुसार, सङ्क्रमणको लक्षणहरूमा टाउको दुख्ने, ज्वरो आउने, घाँटी दुख्ने, शरीर दुख्ने, थकान महसुस हुने, र्‍याश आउने र लिम्फ नोड्सहरू सुनिन्छन्।

सुरुमा र्‍याशहरु नितम्ब वा गुप्तांग क्षेत्रमा साना पिम्पल जस्ता देखिन सक्छन्।

यी लक्षणहरू देखिए वा महसुस भएमा, तुरुन्तै आइसोलेट भएर स्वास्थ्य उपचार गर्नुपर्ने न्यु साउथ वेल्स हेल्थले बताउँछ।

भिक्टोरिया हेल्थका अनुसार, पोलीमरेज चेन रियाकसन् (पीसीआर) परीक्षण मार्फत डाइग्नोसिसको पुष्टि गर्नु पर्ने हुन्छ।
यदि तपाईँको लक्षणहरू गम्भीर छन् भने तुरुन्तै ट्रिपल जिरो (०००) मा फोन गर्नुहोस् र आफूलाई मङ्कीपक्स भएको हुनसक्ने कुरा बताउनुहोस्।

मङ्कीपक्सका लक्षणहरू भएमा तुरुन्तै आफ्नो जीपी, स्थानीय यौन स्वास्थ्य क्लिनिक वा राज्य स्वास्थ्य क्लिनिकलाई सम्पर्क गर्ने सल्लाह पनि दिइएको छ।

Share

Published

By Sam Dover, Charlie Bell
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand