मुख्य बुँदाहरू:
- आफूले काम गर्ने स्थानमा आगो लाग्दा प्रज्वल श्रेष्ठको ज्यान गएको थियो
- हस्पिट्यालिटी क्षेत्रमा घाइते भएका धेरै घटनाहरूबारे जानकारी गराइँदैन
- जीवन बिमा दाबी प्रक्रियालाई एक वर्षसम्म लाग्न सक्छ
२२ जुनको बिहान फोनमा पूर्व सहकर्मीहरूको धेरै मिस्ड कलहरू देखेर त्यसमध्ये एक जनालाई फोन गरेपछि सुजन श्रेष्ठले प्रज्वलको घटनाबारे थाहा पाएका थिए।
पश्चिम सिड्नीको एक रेस्टुरेन्टमा केही समय सँगै काम गरेका प्रज्वलको सोही रेस्टुरेन्टमा आगो लाग्दा घाइते भएको खबरले "मन नै चिसो" भएको सुजनको भनाइ छ।
प्रज्वल र सुजनले पारामाटामा रहेको अन सनसेट रेस्टुरेन्टमा केही समय सँगै काम गरेका थिए।
र म्यानेजर भएको हैसियतले आफूले नै प्रज्वललाई सो कामको लागि छनौट गरेर बोलाएको सुजनको भनाइ छ।
२४ वर्षीय प्रज्वल श्रेष्ठको सन् २०२२ जुन २१ गते रेस्टुरेन्टमा काम गरिरहेको समयमा आगो लागेर घाइते भई उपचार गर्ने क्रममा अस्पतालमा मृत्यु भएको थियो।
प्रारम्भिक अनुसन्धानले भाडा माझ्ने मेसिन खोल्दा भुईँ पुछ्न प्रयोग गरेको ज्वलनशील केमिकलमा आगो लागेको र सोही आगोमा परि प्रज्वलको शरीरको ३० प्रतिशत भाग जलेको देखाएको थियो।
सेफ वर्क न्यु साउथ वेल्सले सो घटनाको पुष्टि गरे पनि थप टिप्पणी गर्न अस्वीकार गरेको छ।
"सेफ वर्क न्यु साउथ वेल्सले २१ जुन २०२२ मा कार्यक्षेत्रमा भएको घटनामा एक कर्मचारी गम्भीर घाइते भएको विषयमा अनुसन्धान गरिरहेको छ। र यो विषयमा अनुसन्धान भइरहेकोले सेफ वर्कले थप टिप्पणी गर्न सक्दैन।"
एसबीएस नेपालीलाई पठाएको इमेलमा सेफ वर्कका प्रवक्ताले भने।
अस्ताएको त्यो हाँसो
सुजन श्रेष्ठले अहिले पनि प्रज्वल पहिलो पटक रेस्टुरेन्टमा छिर्दा खेरिको त्यो हाँसो बिर्सन सकेका छैनन्।
"मैले फर्स्ट टाइम देख्दा खेरि गेटबाट भित्र छिरेर आउँदा हाँस्दै आएको थियो। "दाइ म प्रज्वल, तपाइले बोलाउनु भा'को थियो" यही हो उसले बोलेको शब्द।"
कहिल्यै नरिसाउने "प्यारो भाइ"को रूपमा सुजनले प्रज्वललाई सम्झिने गरेका छन्।

Sujan Shrestha (in the middle with white shirt) and Prajwal Shrestha (right) along with their colleagues from On Sunset restaurant.
केही समय पश्चात् सुजन डार्विन बसाइ सरे, तर प्रज्वलसँग भने अझै पनि सम्पर्कमा थिए।
"उसको योजना रिजनल जाने नै थियो म सँग कुरा गर्दा पनि"
पिआरको लागि रिजनल जाने सोच बनाएको बारे प्रज्वलले बताउँदा न्यु साउथ वेल्समा नमिले डार्विन आउन आफूले सुझाव दिएको सुजनले सम्झिए।
प्रज्वलको मृत्यु पश्चात् सुजन एक पटक उक्त रेस्टुरेन्ट आएका थिए।
रेस्टुरेन्टले प्रज्वलको परिवारलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरेको रकम संकलन कार्यक्रममा सहभागी हुन आउँदा उनलाई प्रज्वलको झझल्को आएको एसबीएस नेपालीलाई बताए।
"[रेस्टुरेन्ट] भित्र छिर्दा नर्मल रूपमा छिरेको तर भित्र छिर्ने बित्तिकै कस्तो मनमा आउने रहेछ। झझल्को आउने। इन्सिडेन्ट भएको धेरै समय पनि भएको थिएन त्यसैले पनि होला अलिकति गाह्रो नै भएको थियो।"
विरलै हुन्छ प्रज्वलको जस्तो घटना
सेफ वर्क अस्ट्रेलियाको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२१ मा १६९ जनाले कार्य क्षेत्रमा भएको दुर्घटनामा ज्यान गुमाएका थिए।
यो सङ्ख्यामा खाना तथा आवास सेवा प्रदान गर्ने क्षेत्रको मात्र दुई जना रहेका छन्।
कार्य सँग सम्बन्धित घाइते तथा मृत्यु हुनेहरूको बारेमा प्रकाशित सो तथ्याङ्कले यातायात, वेरहाउस, पोस्टल क्षेत्रमा ५२ जनाको ज्यान गएको देखाएको जुन कुल सङ्ख्याको ३१ प्रतिशत हो।
त्यसपछि आउँछ कृषि, बन तथा माछा मार्ने क्षेत्र, जसमा ३३ वटा घटना दर्ता भएका छन्।
सेफ वर्क न्यु साउथ वेल्सका अनुसार कुनै पनि व्यवसाय गर्ने व्यक्तिले कार्य क्षेत्र स्वास्थ्य तथा सुरक्षा सम्बन्धी दायित्वहरू पुरा गरेको सुनिश्चित गर्ने पर्ने कानुनी व्यवस्था रहेको छ।
र यसका अनुसार कर्मचारीहरूलाई उपयुक्त तालिम दिने र सुरक्षाका मापदण्डहरू प्रदान गर्नू व्यवसाय सञ्चालकको दायित्व भित्र पर्दछ।
कार्य क्षेत्रमा गम्भीर घाइते भएको, बिरामी भएको, मृत्यु वा खतरनाक घटनाहरूको बारेमा तत्काल जानकारी गराउनु पर्ने पनि सेफ वर्कको नोटिफाएबल इन्सिडेन्टहरूको सुचीमा रहेको छ।
अस्ट्रेलियाको हस्पिट्यालिटी क्षेत्रमा नै केही समयदेखि काम गर्दै आएका सेफ सचिन बानिया कामदारहरूले सुरक्षित अभ्यास गरिरहँदा पनि दुर्घटना हुने गरेको बताउँछन्।
कतिपय समयमा भने किचेनमा काम गर्दा कतिपयले असुरक्षित कार्यहरू गर्ने गरेको पाएको उनको भनाइ छ।
दुर्घटनाहरूबारे जानकारी गराइँदैन
सचिन जस्तै सुजन पनि सुरक्षित कार्यक्षेत्र निर्माण गर्न व्यक्तिगत उत्तरदायित्व हुने बताउँछन्।
"म्यानेजमेन्टले मात्र रेस्टुरेन्ट मालिकले मात्र सबै स्टाफको पछि लाग्न सम्भव पनि छैन, यसमा चाहिँ सबै काम गर्ने मान्छेहरू सजग हुनु पर्छ।"
उनी भन्छन्, प्रज्वल अनुभवी बार टेन्डर थिए। सुजनका अनुसार प्रज्वललाई कार्यक्षेत्रमा रहेका जोखिमहरूबारे पनि राम्रोसँग थाहा थियो र आफूले काम गर्दा निकै सजग पनि रहन्थे त्यसैले उनले यो घटनालाई 'दुर्भाग्यपूर्ण' भनेका छन्।
टास्मेनियाका बिश्वोक्सेन अधिकारी युनाइटेड वर्कर्स युनियनमा अर्गनाइजरका रूपमा कार्यरत छन्। र उनले हस्पिट्यालिटी क्षेत्रमा सबैभन्दा धेरै देखिने घटनाहरूमा काट्ने, धेरै चिसो र धेरै तातोमा बस्दा देखिने समस्या साथै थकान प्रमुख हुन्छन्।
तर त्यस्ता धेरै घटनाहरूबारे रिपोर्ट नै नगरिने उनको दाबी छ।
सुजन पनि उनको कुरामा सहमति जनाउँछन्।
बिश्वोक्सेन यस्ता कार्यस्थलमा स्वास्थ्य र सुरक्षालाई लिएर भएको लापरबाही र अनुचित व्यवहारका घटनाहरूमा युनियनको सदस्य भएको खण्डमा कामदारहरूको लागी युनियनले नै आवाज उठाइदिने बताउँछन्।
सदस्य नभएकाहरूको लागि सामान्य सुझावहरू दिए पनि युनियनले उनीहरूको प्रतिनिधित्व भने नगर्ने उनले स्पष्ट पारे।
बिमा प्रक्रियाको ढिलाइ
न्यु साउथ वेल्सको बिमा सम्बन्धी नियामक निकाय (एसआइआरए) का अनुसार बिमा प्रदायकहरूले कार्यस्थलसँग सम्बन्धित घटनामा ज्यान गुमाएको पाइए अन्तिम संस्कारको खर्च र अन्य सहायता भुक्तानीहरू उपलब्ध गराउँछन्।
यस्तो मामिलामा एकमुष्ट रकम पनि प्रदान गर्न सकिन्छ।
एक पटक बिमा कम्पनीलाई मृत्युको बारेमा जानकारी गराए पछि कामदारका परिवार वा कानुनी प्रतिनिधिलाई उपलब्ध क्षतिपूर्तिका बारेमा जानकारी गराइन्छ।
सिड्नी निवासी प्रदीप श्रेष्ठ प्रज्वलका अस्ट्रेलियामा रहेका नजिकका नातेदार हुन्।
र उनले वकिलसँग बिमा दाबीका बारेमा कुरा गरिराखेको तर यो प्रक्रिया लामो हुने जानकारी पाएको बताएका छन्।
आफूले बिमा दाबी गर्न वकिल पनि राखेको र यो प्रक्रिया सुरु गरेको भए पनि बिमा रकम पाउन भने कम्तीमा पनि एक वर्ष लाग्ने बताइएको प्रदीपले एसबीएस नेपालीलाई बताए।
बिमा दाबी प्रक्रिया 'जटिल र लामो' हुन सक्छ
आर्थिक कारोबारका सम्बन्धमा १ सय भन्दा बढी सदस्य कम्पनीहरूका लागि मापदण्डहरू बनाउने आर्थिक सेवा परिषद् (एफएससी)ले जीवन बिमा दाबिका लागि प्राय तिन तहको प्रक्रिया हुने बताएको छ।
यसका अनुसार उनीहरूले पहिले मृत्युको कारण पत्ता लगाउँछन्, जुन सामान्यतया सिधा प्रक्रिया हुन्छ।
दोस्रो चरणमा बिमा नीतिको वैधता जाँच गरिन्छ।
"उदाहरणका लागि, बिमाले सम्बन्धित व्यक्तिको मृत्यु दाबीलाई समेट्ने हुनु पर्छ, बिमा नीति सक्रिय हुनु पर्छ (अर्थात् उल्लेखित मिति सम्म बिमा शुल्क तिरिएको हुनु पर्छ वा बिमा रद्द गरिएको हुनु हुँदैन)"
संस्थाकी प्रवक्ताले भनिन्, "बिमामा समावेश नगरिएका परिस्थितिहरू (जस्तै युद्ध र आतङ्कका घटना) हुनु हुँदैन, र कहिले काहीँ गलत व्यक्तिले दाबीको प्रतिनिधित्व गरेको छ कि भन्ने पनि जाँच हुन्छ।"
यद्यपि, तेस्रो चरण भने केही "लामो र जटिल" हुन सक्ने भन्दै उनले सचेत गराइन।
"कसले दाबी रकम प्राप्त गर्ने भन्ने कुरा जटिल र लामो हुन सक्छ। यो केही तत्त्वहरूमा आधारित हुन्छ, जस्तै बिमा नीति कसको स्वामित्वमा छ, त्यसमा आफू पछि कसले रकम प्राप्त गर्छ भनी व्यक्ति मनोनीत गरिएको छ कि छैन।"
साथै कागजातको सच्चाइको जाँच र इच्छापत्र वा वसियतनामाको वैधताबारे सर्वोच्च अदालतबाट निर्देशन लिने सम्मको प्रक्रिया हुन सक्ने प्रवक्ताले एसबीएस नेपालीलाई बताइन।
प्रज्वलले कर तिर्ने गरेकोले बिमा दाबी गर्न सकिएको भन्दै सुजन श्रेष्ठ, बिमा दाबिका लागि योग्य भएको सुनिश्चित गर्न, अस्ट्रेलिया भर्खरै आएका सबैलाई कर प्रणाली अन्तर्गत रहेर काम गर्न प्रोत्साहित गर्छन्।
उक्त दुर्घटना भएको अन सनसेट रेस्टुरेन्टले यो विषयमा कुनै टिप्पणी गर्न अस्वीकार गरे पनि यसको फेसबुक पोस्टमा प्रज्वलको परिवारको लागि २० हजार डलर सङ्कलन गरिएको बताइएको छ।