नेपालमा हुँदा राष्ट्रिय ध्वजावाहकको सेवा लिन नपाएको बताउने अनितकुमार बिमली अब भने छिट्टै ‘नेपाली प्लेन’ चढ्न पाउने कुराबाट दङ्ग देखिन्छन्।
नेपाल एअरलाइन्सले सिड्नी उडान गर्न लागेको समाचारले आफू निकै उत्साहित बनाएको उनले बताए।
“आहा कति राम्रो!.मेरो पहिलो स्टप नै आफ्नो नेपाल हुन्छ, कति राम्रो...एकदमै खुसी लाग्या छ, यो (उडान) भयो भने चाहिँ,” उनले भने।
“आफ्नो देशको जहाजमा उडेर जानु त सबैलाई नै गर्वको कुरा होला जस्तो लाग्छ।”
पहिलो पटक नेपाल एयरलाइन्सले सातामा दुई पटक काठमाण्डूबाट सिड्नीसम्म व्यावसायिक उडानका लागि अनुमति पाएपछि बिमली जस्तै थुप्रै नेपालीहरू उत्साहित देखिएका हुन्।
सिड्नीको किङ्गसफोर्ड स्मिथ एअरपोर्टमा २१ जुनदेखि उडान भर्ने गरी नेपाल एयरलाइन्सले अनुमति मागेको थियो।
उक्त अनुमति स्वीकृत भएको नेपाल एयरलाइन्सका सह-प्रवक्ता गणेशकुमार घिमिरेले पुष्टि गरेका छन्।
उनी भन्छन् कि सिंगापुरमा 'टेक्निकल ल्यान्डीङ्ग’ गर्ने गरी उडान हुनेछ।
सिंगापुरमा भने उडानका लागि स्लटको अनुमति लिन हाल काम भइरहेको पनि उनको भनाई छ।
“अरू प्रक्रियाहरू बाँकि रहेकाले त्यसैलाई (२१ जुनलाई) फिक्सड् डेट भनिहाल्ने अवस्था छैन, तर टेन्टेटीभ सबै प्रक्रिया पुरा भयो र हामीले ल्यान्डीङ्ग स्वीकृति र सिंगापुरको पनि स्लट स्वीकृति आयो भने उडान सुरु गर्ने भन्ने योजना बनाएका छौ,” घिमिरेले एसबीएस नेपालीसँग भने।
पहिलो उडान सञ्चालनका लागि उड्ने देश, ट्रान्जिटमा पर्ने देश र सरकारी तवरबाटै थुप्रै काम हुने भएकाले प्लेन अस्ट्रेलिया आउन केही समय थप लाग्न सक्ने सम्भावना रहेको पनि उनको भनाई छ।
“...ल्यान्डीङ्ग पर्मीसन देखि लिएर ट्रान्जिटको स्वीकृत भएपछि हामीले केही संशोधन गर्नु पर्ने हुन सक्छ (फाइनल) डेट, त्यो अनुसार हामी प्लान गर्छौ,” उनले भने ।

भीम न्यौपाने Credit: Bhim Neupane
मेलबर्नका भीम न्यौपाने एक ट्राभल एजेन्सी चलाउँछन्।
उनी भन्छन् कि नेपाल एयरलाइन्सले सिड्नीमा उडान भर्ने कुरा निकै सुखद छ।
“हामी इमोसन्, कनेक्सनका आधारमा सर्पोट गर्छौ नै,” न्यौपाने भन्छन्।
“तर अलिकति वाईडर कम्युनिटीमा जाँदा चाहिँ उनीहरूले चोइसले हेर्छ, उसले आफ्नो रेपुटेसन्लाई कसरी स्टाब्लिस गर्छ भन्ने च्यालेन्ज रहन्छ।”
यता अनितकुमार विमली पनि सेवा सुरु गर्दा केही चुनौतीहरू देखिन सक्ने बताउँछन्।
“इन्टरनेशनल (फ्लाइट) गर्दा केही थप खर्चहरू (हुन्छ होला) तर (सेवा)लाई मेन्टेन गर्दै लानु पर्छ,” उनले भने।
नेपाल एयरलाइन्सको वेबसाइटबाटै टिकट
यता नेपाल एअरलाइन्स पनि समय सापेक्ष रूपमा आफूलाई ढाल्ने प्रयासमा रहेको बताइएको छ।
उक्त संस्था सह-प्रवक्ता घिमिरे भन्छन् कि उडान सम्बन्धी सबै प्रक्रिया पुरा भइसकेपछि, अनलाइनबाटै टिकट बुकीङ्ग गर्न मिल्ने छ।
“प्रक्रिया पुरा भएपछि, अनलाइन बुकिङ पनि गर्न सकिन्छ, हाम्रो वेब(साइट)बाटै(वेबसाइट) प्यासेन्जरले डाइरेक्ट बुकिङ पनि गर्न सक्नुहुनेछ।”
'व्यागेज ह्यान्डलिङ्ग' र 'अन टाइम' महत्त्वपूर्ण
सन् २०१७ देखि अस्ट्रेलियाबाट नेपालका लागि टुरिजम सम्बन्धी विभिन्न प्याकेजहरू सञ्चालन गरिरहेका अनिस सापकोटा नेपाल एयरलाइन्सले सिधा उडान सञ्चालन गर्दा ट्रान्जिटको झन्झट हट्ने भएकाले यसको सकारात्मक प्रभाव पर्न सक्ने बताउँछन्।
उनको भनाईमा अस्ट्रेलियाबाट नेपाल जाने धेरै जसो पर्यटकहरू ट्रेकिङ भन्दा पनि सांस्कृतिक विविधता हेर्न चाहन्छन्।
“प्लेन डिले हुने, लगायतका झन्झटहरू उनीहरू चाहदैनन,” उनले भने।
“...भविष्यमा दुई वटा डेस्टीनेसनमा चलाउन सक्यो भने अझै राम्रो हुन्छ जस्तो लाग्छ।”